News Home » NATIONAL NEWS » डा. केसी र सरकारबीच सहमति

Around the World

डा. केसी र सरकारबीच सहमति

NMAG . जनवरी १२
Image caption गत सोमबारदेखि अनशनरत डाक्टर गोविन्द केसीले अनशन तोडन सहमति जनाएका छन्

प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायतका मागहरु राखी गत सोमबारदेखि अनशनरत डाक्टर गोविन्द केसीले अनशन तोडन सहमति जनाएका छन्।

शुक्रबार अबेर स्वास्थ्य मन्त्री दीपक बोहरासंगको वार्तापछि उनले अनशन तोडन सहमति जनाएका हुन्।

डा गोविन्द केसी रिहा, अनशनलाई निरन्तरता

अदालतको आदेशपछि डा. गोविन्द केसी पक्राउ

शुक्रबार राती मन्त्री बोहरा र डाक्टर केसीले हस्ताक्षर गरेको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा अध्यादेश बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र एउटा सिफारिस समिति गठन गर्ने उल्लेख छ।

सहमतिको ५ नं बुँदामा डा केसीले आमरण अनशनको कार्यक्रम अन्त्य गर्ने पनि उल्लेख छ।

मानहानि

तर डाक्टर केसीले माग गरेको प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र अदालतमा विचाराधीन केसी विरुद्धको मानहानिसंबन्धी मुद्दाका बारेमा भने सहमतिमा कुनै उल्लेख गरिएको छैन।

डा केसीका एकजना सहयोगी डा. अभिषेकराज सिंहले बीबीसी नेपाली सेवासंग कुरा गर्दै डाक्टर केसीले शनिबार बिहान अनशन तोडने बताए।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा सरकारले केही बोल्न नमिल्ने भएकाले सहमतिमा त्यसबारे केही उल्लेख नभएको पनि उनले बताए।

गिरफ्तार

तस्वीर कपीराइट KESHAV THAPA
Image caption यसअघि पनि डा. केसी पटकपटक अनशन बसेका थिए

यसअघि गत सोमबार अदालतको अवहेलना गरेको आरोपमा प्रहरीले डाक्टर केसीलाई गिरफ्तार गरेको थियो।

तर बुधवार सर्वोच्च अदालतको आदेश पछि उनी रिहा भएका थिए।

केसीले आफूले अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको र अदालतको स्वच्छ आलोचना मात्रै गरेको बयान दिए पछि अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो।

आदेशमा केसीले प्रश्न उठाएका प्रधानन्यायाधीश गोपाल पराजुलीका दुईवटा नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपिसमेत अदालतमा पेश गर्न भनिएको छ।

रिहा

केसीले अदालतको अवहेलना हुने अभिव्यक्ति दिएको बारेमा भएको बहस र केसीको बयानपछि न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले तारेखमा रिहा गर्न आदेश दिएको थियो।

रिहा भएसँगै फागुन ८ गतेका लागि तारेख बुझेका डाक्टर केसीले आफु कार्यरत त्रिवि शिक्षण अस्पताल परिसर फर्केर अनशनलाई निरन्तरता दिएका थिए।

चिकित्सा शिक्षामा सुधार लगायतका विषयमा यसअघि पनि डा. केसी पटकपटक अनशन बसेका थिए।

पछिल्लो पटक सर्वोच्च अदालतले डा. शशी शर्मालाई त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानको डीन पदमा पुनर्बहाली गर्ने आदेश दिएपछि सो फैसलाको विरोध गर्दै डाक्टर केसीले अनशन शुरु गरेका थिए।